दफा १११
लेखापरीक्षकको नियुक्ति
: (१) कम्पनीको लेखापरीक्षक प्रचलित कानून बमोजिम लेखा परीक्षण गर्न इजाजतपत्र प्राप्त लेखापरीक्षकहरुमध्येबाट पब्लिक कम्पनीको हकमा परिच्छेद–१८ को अधीनमा रही साधारण सभाले र प्राइभेट कम्पनीको हकमा प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा व्यवस्था भए बमोजिम र सो नभएमा साधारण सभाले नियुक्त गर्नु पर्नेछ र त्यसरी नियुक्त भएको मितिले पन्ध्र दिनभित्र निजको नाम कार्यालयमा पठाउनु पर्नेछ । तर प्रथम वार्षिक साधारण सभा हुनुभन्दा अघि सञ्चालक समितिले लेखापरीक्षक नियुक्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षक त्यसपछि बस्ने वार्षिक साधारण सभासम्म मात्र बहाल रहनेछ ।
(३) पब्लिक कम्पनीको लेखापरीक्षण गर्न एउटै लेखापरीक्षक, निजको साझेदार वा पूर्व साझेदार वा कर्मचारी वा भूतपूर्व कर्मचारीलाई लगातार तीन पटकभन्दा बढी लेखापरीक्षक नियुक्त गर्न सकिने छैन ।
तर तीन वर्ष पहिले नै साझेदारीबाट अलग हुने साझेदार वा त्यस्तो लेखापरीक्षकको सेवाबाट अलग भएको कर्मचारीको हकमा यो प्रतिबन्ध लागू हुने छैन ।